“जब लडाइँ चल्छ”


✍️  होमनाथ सिग्देल

जब लडाइँ चल्छ 

तब पूरा राष्ट्र-

पातालको गहिराइ सम्म 

एकाएक डुब्छ ।

हराभरा धर्तीको 

ममतामयी छातीबाट 

रक्त रसाउँदै बग्न थाल्छ

जान्दछौ,

त्यो रगत कस्को हो? 

विवशतामा डुबेको –

निरीह मानवताको ॥

जब लडाइँ चल्छ 

तब सैनिक 

पशुताको खोल पहिरेर 

नाच्छन,

दानवहरूको नाङ्गो नाच 

तब तिनीहरूले 

काट्छन् 

आफू जस्तै मानवलाई 

मूला-गाजर गिंडे झैं ॥

जब लडाइँ चल्छ 

तब गाउँ-बस्ती 

जलाइन्छन 

अनि पशु सरह 

भाग्छन मानिसहरू 

आफ्नो ज्यानको खातिर 

जतापायो उतै, 

पछाडि फर्केर हेर्छन 

आगोको लपेटामा 

स्वाहा हुदै गरेको 

आफ्नै घर ॥

अनि आँसुले 

तप्केको आँखाले 

माथि आकास तिर हेर्दै 

सोध्छन इश्वर सँग

आखिर यिनीहरू-

यतिभाती निर्दयी बन्छन किन? 

जुन बिषयमा हामी केही –

जान्दैनौं-बुझ्दैनौं, 

तिनीहरूको यो महासंग्राम 

किन, कस्को र के का लागि?॥

प्रतिक्रिया दिनुहोस्