प्रेम दिवस


✍️ प्रमोद अमात्य | #शुक्रबारे गन्थन

दिन रात

तिम्रो साथ

मेरा लागि विशेष ।

तिमी भए 

मेरा लागि 

सधैं प्रेम दिवस ।।

आज विशेष दिन- प्रेम दिवस माने भ्यालेनटाइन डे।

भ्यालेनटाइन डेलाई नेपालीकरण गर्नु नै थियो त कमसे कम रोमान्टिक नाम राख्नु जस्तै ‘प्रेम सन्ध्या’ वा ‘प्रणय रात्रि’ यस्तै यस्तै ।

यो चाडको बारे मैले डेढ दशक अगाडि नेपालमा सुनेको थिइँन । अमेरिकामा पनि खासै चासो राखिएन । तर, केही वर्षदेखि यसलाई फेसबुकले बेपत्ता चर्चित बनायो । मेरा अनुजहरू मात्र हैन, अग्रजहरूले पनि झिल्के फोटोका साथ यसलाई फेसबुकमा मनाए, आज फेसबुकभरि यस्तै फोटाहरू मात्र भेटिनेछ ।

हुन त म ‘if you don’t care about 14 February, congrats! you’re mature now’ को वर्ग वा खेमाको मान्छे । मेरा मित्र सुशील ताम्रकार पासाले ‘प्रेम दर्शन हो, प्रदर्शन हैन’ भन्नु हुन्थ्यो, मलाई पनि हो जस्तो लाग्छ है साथीहरू । तर, म चाहिँ प्रेम दिवसको बहानामा जमघट गरौँ न, भनेर कसैले भन्यो भने, कविता पढौँ भन्यो भने कसैले, ‘नाईँ’ भन्दिन । म यसको विरोधी हैन । म त अझ, दुइ पाइला अगाडि बढेर यो चाडलाई ३६५ दिन नै अर्थात् वर्षैभरि मनाउनु पर्छ भन्ने मान्यता राख्ने मान्छे । हामी त फेरि लोग्ने स्वास्नीको झगडामा पनि प्रेम देख्ने मान्छे पऱ्यौँ । अनि ‘लोग्ने स्वास्नीको झगडा, परालको आगो’ भन्ने त उखान भएका जाति, जाती मान्छे पऱ्यौँ । प्रेम त हाम्रो नसा नसामा बगेको छ, त्यसैले Every day is a Valentine Day । मखुला पासा ?

अस्ति, मेरा साथी विजयले ‘तिमी यो भ्यालेनटाइन डेमा के दिन्छौ श्रीमतीलाई, गुलाफको फूल दिन्छौ कि ? भनेर सोध्यो । मैले ‘फूलको के कुरा, पूरै गुलाफको बगैँचा नै दिई राखेको छु नि’ भनेको, साथी दङ्ग ।

हैन साथीहरू ठीक भनिँन त? खः लाकि मखु पासा?

प्रतिक्रिया दिनुहोस्