

✍️ दुर्गा दाहाल
म यहाँ NRN अमेरिकाको कुरा गर्न गई रहेको छु । मेरा यी विचारहरू व्यक्तिगत हुन र अधिकाँशलाई पाच्य पनि नहोला । तर मैले भन्नै पर्छ यो संस्था अब्बल दर्जाको छैन । यो संस्थाको औचित्य त छ तर अपेक्षाकृत रूपमा सफल हुन नसकेको तथ्य र सत्य घाम जत्तिकै छर्लंग छ ।
अहिले आएर युवा नेता विनोद रूवाली, विनोद थापा र दिक्षा बस्नेतले मधुरो दियोमा तेल हाल्न खोजेको त प्रतीत हुन्छ तर पार्टीका झोलेहरूले देलान कि नदेलान भन्ने शंका विद्यमान छ । किनकि अमेरिका र अन्यत्र पनि सामाजिक संघ- संस्थाहरूलाई राजनैतिक मठाधीश हरूले चलाउने प्रावधान छ । हाम्रा यी यहाँ विदेश स्थित नेताहरू दरिद्र छन र तीनै देशी नेताहरूको चाकरी, चुग्ली र चाप्लुसी गर्छन ।
यो कुराको थप पुष्टि अस्तिको निर्वाचनमा काठमाण्डूमा देखियो । यहाँबाट सदस्य चयन देखि लिएर त्यहाँ जे जस्तो जसरी देखियो, अत्यन्त घृणास्पद र निन्दाजनक थियो मानौं त्यो NRN को चुनाव नभएर राजनैतिक पार्टीहरूको चुनाव थियो । यो पंक्तिकारले बहिस्कार र तिरस्कार गर्यो भोलीपल्ट देखि त्यो सम्मेलन । मलाई त प्रतिनिधि किन छान्थे र बबुवाहरूले तर म स्वतंत्र किसिमले पर्यवेक्षक र पत्रकारको हैसियतले त्यहाँको inaugural day मा पुगेको थिएँ र म स्तब्ध भएको थिएँ । त्यसपछि म साहित्यिक यात्राका निम्ति दार्जीलिंग र आसाम तर्फ लागेको थिएँ ।
NRN का प्राय सबैजसो नेताहरूको पृष्ठभूमि, आचार- व्यवहार, संचार शक्ति, नेतृत्व क्षमता र कला – कौशल प्रति म सर्वथा परिचित छु । कसैको नाम लिन चाहन्न अहिलेलाई । तर यहाँ र सबै देशहरूमा तथाकथित बुद्धिजीवी र बुद्धिहीन हरूको एउटा जत्था छ जसले NRN लाई नियंत्रण गरेर आफ्नो प्रभावमा राखेको छ । यो ध्रुवसत्य हो ।
केवल चुनावका बेला ठूल्ठूला कुरा गर्ने र चुनाव सकिए पछि कानमा तेल हालेर बस्ने अपारदर्शी र ग़ैर- ज़िम्मेवार नेताहरूको खाँचो पनि छैन यहाँ र भर्खरै आएका नेपाली हरूलाई बुद्धिको खेती गरेर अलमल्याउने प्रशस्त ठूटे नेताहरूको जमात पनि छ ।
अत: NRN लाई आगामी दिनहरूमा सही बाटो तर्फ डोर्याउने कार्य गर्नु पर्ने हुन्छ । अयोग्य मानिसहरूलाई राख्ने कार्यलाई रोक्नु पर्छ । राजनैतिक भागबण्डाको आधारमा NRN लाई परिचालन गर्न खोजियो भने यसको मृत्यु अवश्यम्भावी छ अथवा सानो समूहमा निष्क्रिय भएर जाने निंश्चितप्राय: छ ।
अहिले आएर युवाहरूलाई समाहित गर्न खोजिनु स्वागतयोग्य कदम हो । महिलाहरूलाई पनि आकर्षित गर्ने प्रयत्न गर्नु पर्छ तर केवल कुराले हैन; कामले पनि ।