अनेसास: दिशानिर्देश


✍️ डा. दुर्गा दाहाल

अनेसास अर्थात ‘अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज ‘ विश्वव्यापी रूपमा फैलिएको एउटा अन्तरराष्ट्रीय साहित्यिक संस्था हो । यो निरन्तर साहित्यिक मुर्धन्य व्यक्तित्व हरूदारा सिंचित, संरक्षित र पुष्पित संगठन हो । 

यसको आफ्नै गरिमा र अस्तित्व छ । यो एउटा अराजनैतिक र बहुआयामिक व्यक्तित्वहरू अँटाउने बौद्धिक र साहित्यिक संस्था हो । तदनुरूप, यो संस्था चल्नु पर्ने हो । यो फराकिलो हुनु पर्छ र सबैले साहित्यिक गतिविधिहरू गर्न पाउनु पर्छ । 

कुनै पनि संगठनहरूमा, घरदेखि लिएर राष्ट्रपति निवाससम्मका सबै संस्था र व्यक्तिहरूमा, जिम्मेवारीपन र पारदर्शिता हुनु पर्छ । त्यसो भएको खण्डमा मानिसहरूमा विश्वास बढछ र यसप्रति सबैको आकर्षण बढछ । 

अनेसासमा विद्यमान नियम-कानूनहरू पनि परिमार्जित गर्नु पर्ने देखिन्छ । यसमा खासगरि बोर्ड अव ट्रष्टी र निर्वाचित प्रतिनिधिहरूको कार्यविभाजन पनि निर्दिष्ट नभएको होला समय समयमा यिनीहरूको बीचमा शीतयुद्ध चलेको प्रतीत हुन्छ । यसको निराकरण अविलम्ब हुनु ज़रूरी छ । 
अनेसासका विद्यमान नीति/ नियमहरुको उल्लंघन गरि कार्यसमिति र बोर्ड अव ट्रष्टी दुवैले काम गरेको देखिन्छ । 

अबको पाँच महिना पछि चुनाव हुँदैछ । यसमा गुटबन्दी नगरौँ । यो अराजनैतिक र नाफारहित समाज भएकाले भरसक सकेसम्म सर्वसम्मतिबाट एउटा उपयुक्त साहित्यिक व्यक्तित्वको खोजी गरौँ । चुनाव गर्दा दूरी बढछ र हारेको व्यक्ति र समूह टाढिन्छ । 

नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू गरौँ । विकसित ज्ञान र प्रविधि हरूलाई उपयोग र उपभोग गरौँ । त्यसैमा हाम्रो कल्याण हुन्छ । व्यक्तिगत स्वार्थलाई तिलाँजलि दिएर साहित्यसेवामा जुटौँ ।

नेपाली भाषा र साहित्यको विश्वव्यापी अनुवाद ज़रूरी छ । नेपाली कृति हरूलाई अंग्रेज़ी र अन्य भाषामा अनुवाद गर्नु अत्यन्त आवश्यक छ । हाम्रा सम्मेलनका पहिला दिनको प्रथम सत्रमा सबै भाषा -भाषीका साहित्यकार हरूलाई निम्त्याउन नबिर्सौँ । 

अब हामीले हरेक ठाऊँमा नेपाली सामुदायिक केन्द्र खोल्ने दिशामा अग्रसर भई त्यहाँ नेपाली पाठशाला, चिया- चमेना गृह, नेपालबाट आएका वृद्ध- वृद्धा हरूका लागि अनुकुल हुने गरि भेटघाट कक्ष आदि खोल्ने दिशामा स्थानीय संघ- संगठनसंग सहकार्य गरि अघि बढनु पर्छ । आँफूले सके धेरै राम्रो तर नसके अन्य संस्थाहरूसंग सहकार्य र सहयोगको दिशामा लम्कनु पर्छ । 

मलाई थाहा छ हाम्रो जस्तो समाजमा उल्लिखित कार्यहरू गर्न त्यति सजिलो छैन तर असंभव पनि हैन । ईच्छाशक्ति प्रबल भएको र योजनासहितको एउटा व्यक्ति आगामी चुनावमा  सर्वसम्मतबाट हाम्रो समाजमा आयो भने अनेसासका  सबै विसंगति र अनियमितताबाट मुक्त भई यसलाई उन्नत र अन्तराष्ट्रीय स्तरको लोकप्रिय समाज बनाउन सकछ ।

यी मेरा व्यक्तिगत विचारहरू हुन । कसैप्रति लक्षित नभई अनेसासको बृहत्तर स्वार्थका निम्ति अभिव्यक्त भएका हुन । 

प्रा. डा. दाहाल अनेसासका केन्द्रीय सल्लाहकार हुन

प्रतिक्रिया दिनुहोस्