नेपाली कांग्रेस अब जाग्नु पर्छ


✍️ दुर्गा दाहाल
पुरानो प्रजातान्त्रिक पार्टी भएता पनि नेपाली कांग्रेसले सम्प्रति  राष्ट्र र  जनताका लागि अपेक्षित मात्रामा  केही गर्न नसकेको सत्य र तथ्यलाई हामीले ईमान्दारीपूर्वक भन्न सक्नु पर्छ । केवल सरकार र नेकपाको मात्रै खैरो नखनेर आफ्ना पनि दायित्व, कर्तव्य र चुनावी घोषणापत्रको हेक्का राख्न सक्नु पर्छ ।

नेकपा पार्टी र सरकारले आफ्नो निम्नतम क्षमता, सीमित श्रोत, साधन र शक्तिले भ्याएसम्म गरेको पनि छ, नगरेकै त भन्न मिल्दैन तर यो सरकार लोभी र पापी छ ।
भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारबाट मैलेचैँ व्यक्तिगत रूपमा त्यति धेरै केही आशा  गरेको छैन । यिनीहरूमा गहिरो सुझबुझ छैन । कसरी लुटन सकिन्छ भन्ने कुरामा गिद्धे दृष्टि लगाई रहेका हुन्छन । अत: पशुपति शर्माको “ लुट कान्छा लुट; नेपालमै छ छुट “ भन्ने सर्वाधिक जनप्रिय गीत   र रवि लामिछानेको लोकप्रिय कार्यक्रम “ सीधा कुरा जनतासंग “ ले प्रष्ट पारिसकेको छ । अत: यो अलोकप्रिय सरकारको बारेमा कुरा गरेर म मेरो मूल्यवान समय खर्च गर्न चाहन्न यो महामारीको संकटकालमा ।

तर नेपाली कांग्रेसचैँ के गरेर बसिरहेको छ त यस घडीमा भन्ने विषय पनि यहाँ उठाउनु ज़रूरी छ । नेपाली कांग्रेसका नेताहरूचैँ बी.पी कोईरालाद्वारा प्रतिपादित राष्ट्रीयता, प्रजातंत्र र समाजवादको मूल सिद्धान्तलाई अंगीकार गरेर देश र जनताका नाममा समर्पित छन ? कि बामपन्थीहरू संगै सती गएर नेपाली कांग्रेसका कार्यकर्ताहरूको मनोबल गिराऊँदैछन ?

अहिलेको समयमा धेरै लामो लेख र लामो भाषण गर्नुको कुनै औचित्य छैन । अत: नेपाली कांग्रेसले निम्नलिखित कार्यहरू गर्नु ज़रूरी छ ।
१. गाऊँ पस्नु पर्छ र संगठनलाई मज़बूत बनाउनु पर्छ ।
२. संगठनलाई प्रशिक्षणमार्फत विस्तारित गर्नु पर्छ ।
३. काठमाण्डू मात्रै बसेर  हुन्न । सम्पर्क, संवाद र ख़ास गरि आफ्नो सेवा मार्फत जनताको मत जित्नु पर्छ ।
४. गुटबन्दी परित्याग गर्नु पर्छ ।
५. बामपंथीहरसंग सहकार्य त गर्नु पर्छ तर आफ्नो सिद्धान्त, कार्यकर्ताको मनोभाव र जनताको मतको उपेक्षा गरेर हैन परन्तु कार्यकर्ता, मतदाता र  शुभेच्सछुक संघ- संस्थाहरू  र सबैको अस्तित्वको कदर गर्दै अगाड़ी बढनु वाँछनीय हुन्छ ।
६. नेतृत्व परिवर्तन गर्नु अत्यावश्यक छ । श्रद्धेय शेर ब. दाईको जमाना गयो अब । उहाँले छोड़ि दिए हुन्छ गद्दी र सल्लाहकारको भूमिकामा बस्नु पार्टी, देश र जनताको हितमा हुन्छ ।
७. अब नयाँ पुस्ता आउनु पर्छ नेतृत्वमा । हैन भने विद्रोह गरेर भए पनि झार्नु पर्छ उहाँलाई ।

८. सामूहिक नेतृत्व ग्रहण गरि देश र जनतालाई वास्तविक परिवर्तनको आभाष दिन सक्नु पर्छ । केवल लामो भाषण र लेख लेखेर मात्र हुन्न अब ।
९. अन्त्यमा, नेपाललाई जोगाउने अभिभारा लिनु पर्छ ।  हैन भने अर्को पार्टी आउँछ अन्ततोगत्वा र नेपालको मानचित्र फेरिन सक्छ र त्यसको ज़िम्मेवारी तिमीहरूले पनि लिनु पर्छ । हैनभने अब काँग्रेस भूत भएर जाग्नु पर्छ ।

(क्यालिफोर्निया निवासी  प्रा.डा. दुर्गा दाहाल नेपाली कांग्रेसको केन्द्रीय  प्राक्तन प्रशिक्षक र स्वतन्त्र राजनैतिक विश्लेषक हुन )

प्रतिक्रिया दिनुहोस्