मेराे भाेजन


✍️ टिपी खनाल

मेरो खानपिन र जीवनशैली कसैका लागी उपयोगी हुन्छ भने राम्रै हुनेछ भन्ने सोचेर यसप्रकार यहाँ शेयर गरेको छु ! यसको कारणले कसैलाई फाइदा पुगे म बेहद खुशी हुनेछु, तर यदि मेरो यो प्रयास कसैलाई मन परेन भने यसलाई पुरै वेवास्ता गर्नुहोला, म फेरिपनि खुशी नै हुनेछु !

(क) बिहान उठेर सबभन्दा पहिले दुई गिलास पानी पिउछु ! त्यसपछि नित्यकर्म सकेर करिब आधाघण्टा योगा र एक घण्टा जति ध्यान (Meditation) (आफूसँग उपलब्ध समय अनुसार यो तालिका कम बढी पनि हुनसक्छ ) गरिसकेपछि अघिल्लो राती भिजाएर राखेको दुई-दुई चिम्टी मेथी, जिरा र ज्वानोको पानी पिउछु र बाकी भिजेको दाना पनि मज्जाले चपाएर खान्छु !

(तर याद राख्नुपर्ने कुरा के हो भने प्रेसर लो हुनेहरुले भने मेथी खानुहुँदैन ! )

(ख) त्यसपछि हिजै राती भिजाएर राखेको दश दाना हाडे बदाम ( Almond ), पाँचवटा मुनक्का ( Big Raisins) ( हेर्दा र खाँदा किसमीस जस्तै तर अलिक ठुलो र त्यसभित्र बिऊ हुन्छ ) अनि एउटा अंजिर ( Fig) खान्छु ! भिजेको बदामको बोक्रा सजिलै निस्कन्छ, त्यसलाई फ्याँक्ने र मुनक्काभित्रको बिऊ पनि फालेर खानुपर्छ !

(ग) त्यसको १०-१५ मिनेट पछि,
१) दुई चम्चा अर्थात एउटा कागतीको रस
२) एक चम्चा शुद्ध मह
३) आधा चम्चा शुद्ध बेसार
४) एक चम्चा दालचिनी ( Cinnamon ) को धुलो
५) २ चिम्टी मरीच ( Black Paper ) को धुलो
६) एक चिम्टी बिरेनुन; नत्र Pink Salt अर्थात Mountain Salt भए पनि हुन्छ
७) एक चिम्टी टिम्मुर ( Sichuan Paper) को धुलो
८) सानो टुक्रा अदुवा ( Ginger ) लाई खुर्केर हाल्ने

यी सबै कुराहरुलाई एउटा गिलास वा कपमा हालेर राम्ररी घोल्ने ! दुई चम्चा कागती र एक चम्चा महमा ति सबै कुराहरु राम्ररी घुलिन्छन, अन्यथा थोरै पानी थपेर पनि घोल्न सकिन्छ ! ति सबै कुराहरु राम्ररी घुलीई सकेपछि तातो पानी थपेर त्यस गिलास वा कपमा भरि बनाउने र आनन्दसँग सबै पिउने ! एक किसिमको सर्वत जस्तै हुन्छ ! मीठो हुन्छ !

त्यसको केहिँ समयपछि अर्थात आधा घण्टा देखि एक घण्टा जति पछि;

(घ) दुई मुठी जौ (Oat) को चिउरालाई ५ मिनेटजति तातो पानीमा भिजाउने अनि त्यसमा निम्नानुसारका औषधिहरु मिसाउने

१) दुई चम्चा आलस (Flaxseed) को धुलो
२) दुई चम्चा धुलो नपारेको Chiaseed
३) ४-५ दाना काजु (Cashew nut)
४) ४-५ दाना ओखर (Walnut)
५) आधा मुठी बदाम (Peanut)
६) आधा मुठ्ठी सूर्यमुखी फुलको बिऊ ( Sunflower Seeds)
७) आधा मुठी फर्सीको बिऊ (Pumpkin Seeds)
८) एक-एक पसर (Handful) ब्लुबेरी र क्रानबेरी (Blueberry & Cranberry) का दानाहरु
९) एक मुठी टुसा निस्केको गेडागुडी (Sprouts)
10) दुई केस्रा उसिनेको लसुन (Garlic)
११) अनि सिजन अनुसारका केहिँ फलफूलहरु (आधा कोसा केरा, एउटा सुन्तला, एउटा सानो स्याउ, एउटा किवी, अलिकति मेवा…. इत्यादी )

(ङ) माथि उल्लेखित (घ) को सट्टामा फरक दिनमा
१) आधा उसिनेको ब्रोकाउली (Half boiled Broccoli)
२) गाजर (Carrot)
३) पुरै उसिनेको पिंडालु (BoiledTaro Root) र सखरखण्ड (Sweet Potato) मध्ये एक
४) र सीजन अनुसारका फलफूल र सागपातहरु

खानेकुराहरु पाएसम्म बिषादी नहालेको नै खोजेर किन्ने प्रयास गर्छु !

मेरो सधैँको बिहानको खानेकुरा यहिँ नै हो ! मैले यस किसिमको खानेकुरा खान लागेको झन्डै एक दशक भयो !

भात खानलाई त म पाहुना हुन नै जानुपर्छ भन्दा मेरा कतिपय साथीहरुले आश्चर्य मान्छन ! अरुकोमा जाँदा भने जसकोमा जे पाकेको छ त्यो चुपचाप खाईदिन्छु, किनकी मेरो रुचिको खानेकुराको जोहो अरुले गरिदिएका हुँदैनन भन्ने कुरा मैले राम्ररी बुझेको हुन्छु त्यसैले जसले सम्मानपूर्वक जे दिन्छन त्यसलाई हाँसी खुशी खाईदिन्छु !

बजारको औषधी मेरो प्राथमिकतामा पर्दैन किनकी मेरा खानेकुराहरु नै मेरो लागी औषधी हुन !

चिया, कफी, खैनी, सुर्ती, चुरोट, रक्सी इत्यादीको बानी छैन ! तर ग्रीन टि भने दिनमा २-३ पटक, एउटै ग्रीन टी मा पानी थप्दै पिउछु ! तर एउटा नशा भने छ, त्यो के हो भने प्रत्येक दिन कम्तिमा पनि ५ माईल पैदल हिड्नै पर्छ मलाई ! कारणबस हिड्ने परिस्थिति मिलेन भने आफ्नै कोठामा मज्जाले नाच्छु !

साथीहरुले सोध्ने गर्छन, तेरो यो जीवनशैलीले तलाई फाइदा नै हुन्छ भन्ने के ग्यारेन्टी छ ? मैले भन्ने गर्छु; ग्यारेन्टी त यहाँ केहिँको पनि छैन तर मैले मेरो कर्म गर्छु, फल कस्तो मिल्छ त्यो मेरो चिन्ताको बिषय होईन !

तर खोई किन हो कुन्नि, जीवन साह्रै सुन्दर लाग्छ मलाई !

प्रतिक्रिया दिनुहोस्