ठूलो रुख र उल्लूहरुको सभा


✍️ राजेन्द्र प्रसाद अधिकारी

बगैंचाको बीचमा

समुदायले बर्षौं लगाएर हुर्काएको

यौटा ठूलो रुख थियो

जो धरोहर थियो वस्तीको

जो सम्पत्ति थियो पूर्खाले हस्तान्तरण गरेको

खैः !

हेर्दा हेर्दै धमिराले खाएर

खैः !

जोगाउँदा जोगाउँदै एकनासले सुकेर

जर्जर भएको छ

बगैंचाको सौन्दर्य थियो त्यो रुख

अहिले उ आफैं एक त्रास भएको छ –

ढल्छ

ढल्ने निश्चित छ

म हेर्छु

उसका मक्किएका हाँगाहरुमा

उल्लूहरु रमाएर बसेका छन्

चलाख छन्

शरीर नघुमाई पछाडी देख्न सक्छन्, र

रातमा जाग्ने गर्छन् उल्लूहरु

एकले अर्कोलाई खान पनि बेर लाउदैनन्

लक्ष्मीका वाहन यी उल्लूहरु

यिनले हामीलाई रुखको हेरचाह गर्न नदिएको

बर्षौं भईसकेको छ

त्यसैले यस रुखमा

समयभन्दा छिटो धमिरा लागेको छ

त्यसैले यो रुख

समयभन्दा छिटो सुकेको छ

हाम्रो धरोहर

हाम्रो सम्पत्ति

जो उल्लूहरुको भएको छ

बगैंचाको बीचको

ठूलो रुखका हाँगाहरुमा बसेर

सभा गर्छन् उल्लूहरु

कर्कश र डरलाग्दो आवाजमा कराउँछन्, र

फोहर गर्छन् भूईंहरु

जसको सौन्दर्य थियो

जसको आकर्षण थियो, र

जसको ओज थियो

बगैंचामा

आज त्यो रुख

उल्लूहरुको भएको छ

म अलिपर बसेर

ठूलो रुख र उल्लूहरु हेरिरहेको छु

चिन्तित छु

दुःखी छु

खै! किन यतिखेर

यौटा गतिलो हुरी वा

भूकम्पको अलि जोडको धक्काको

चाहना गरिरहेको छु

शायद

धमिरा लागेर मक्किएको

रुखका हाँगाहरुबाट

उल्लूहरु उडेर गएको

हेर्न प्रतीक्षारत छु

शायद

सुकेर ढल्न खोजिरहेको

रुखको हाँगाहरुमा बसेर

उल्लूहरुले गर्ने सभा

सदाको लागि अन्त्य भएको

हेर्न आतुर छु ।

***

२०७७ जेठ २

प्रतिक्रिया दिनुहोस्