नवराज कार्कीका १० मुक्तक – भाग १



कोरोनाले लिपस्टिक लगाउँदिन, मास्क लगाएर हिंड्छे

मैले चाल पाउँदिन, ऊ रिसाएर हिंड्छे कि मुस्कुराएर हिंड्छे

आफ्नै बाउको नाउँ त थाहा छैन भन्छे, बतासे हो रे ऊ

संसारलाई आफू जस्तै, बतासे बनाएर हिंड्छे । 

कहिले युध्द हरिया लुगा लगाउनेले लडे

कहिले युध्द नीला लुगा लगाउनेले लडे

भिन्न मोर्चामा छन् अहिले ती , बर्दीधारीहरू

नयाँ दुश्मन विरूध्दको युध्द, सेता लुगा लगाउनेले लडे

नाक, मुख देखिदैनन्, कान छन् दु:ख छ

डोरी लगाएर दुईतिर तान्छन् दु:ख छ

हुँदो नहुँदो समाचार पनि यै कानले सुन्नुपर्छ

कानलाई त भरिया नै ठान्छन् दु:ख छ

कहिले यो हुनु भो

कहिले त्यो हुनु भो

मान्छे हुनोस् भो अब

पहिले जे हुनु भो । 

बाँस र निगालो

बाघ र बिरालो

उस्तै उस्तै हुने प्रयासमा छन्

सेतो र कालो !

राणाहरूले”अंग्रेज” देखेका थिए, “अंग्रेज” जस्तै भए

कांग्रेसहरूले “राणा” देखेका थिए, “राणा” जस्तै भए

नदेखेको कुरा गर्ने त कि कवि कि पागल हुन्छ ?

कामरेडहरूले “राजा ” देखेका थिए ” राजा ” जस्तै भए ।

देवघाटमा बसेर माला जपेर खाँउ कि म ?

कतै भट्टीमा पसेर प्याला थपेर खाँउ कि म ?

मेरो जीवन मेरो मर्जी, प्रश्न गर्ने तिमी को हौ ?

सधैं यतै बसूँ कि म, अन्तै कतै जाँउ कि म ?

गीत उसैको मादल उसैको

श्रृङ्गार उसैको, नाट्यदल उसैको

हल भाडामा दिए पछि हाम्रो काम सकियो

छ यो प्रस्तावमा सवाल गर्ने, मजाल कसैको ?

न, खानेलाई नखा भन्छ

न, जानेलाई नजा भन्छ

कर तिरेको धन छ, ल, खा भने हुँदैन ?

आँउछु भन्नेलाई पो, नआ भन्छ ।

१०

फूलहरू फुलिरहेकै छन्

चराहरू उडिरहेकै छन् 

आफ्नै कुकर्मका कारण

मानिस बरू थुनिईरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्