सगुनमा लगानीको अबसर, कम्तीमा ९ सय डलरको सेयर किन्न सकिने


अमेरिकामा रहेका नेपालीहरुको एक समुहले स्थापना गरेको सामाजिक इकमर्स स्टार्ट अप कम्पनी सगुन www.sagoon.com ले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निस्कासन गरेको छ । सगुन (sagoon) मा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।
अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) ले केही समय अघि सगुनको विवरणपत्रलाई विक्रियोग्य तोकेको थियो । सगुनले यस चरणमा ग श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्बसाधारणलाई विक्री गर्ने छ । सगुनको सेयरमा विश्वभर रहेका सर्बसाधारणले कम्तिमा ३० कित्ता सेयर (९ सय डलरको) खरिद गर्न सक्नेछन् । कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निश्कासन गरेको हो ।
सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपिओ प्रतिकित्ता २३ डलरका दरले निस्कासन गरेको थियो । त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए । पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको छ । यसले मोवाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रौइडमा सोसियल स्मार्ट कार्ड तथा वेव व्राउजरहरुका लागि वेव एप्लिकेसन सार्बजनिक गरेको छ ।
‘हामी विश्वभरीका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं । उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नु भएको छ । उहाँहरुको सहयोगले सगुनलाई हामीले बालकदेखि वृद्ध अबस्थासम्मका मानिसलाई जोड्ने प्लेटफर्म बनाउन सकेका छौं,’ सगुनका संस्थापक गोविन्द गिरीले बताए , ‘हामीले सगुनलाई एउटा फरक खालको प्लेटफर्म निर्माण गर्न कडा मेहनत गरेका छौं । यसले विश्वभरका प्रयोगकर्ताको आवश्यकता र चासोलाइ पूरा गर्दछ । सगुनमा उनीहरूले साथीहरूसँग सम्पर्क गर्ने मात्र हैन, सोसियल इकमर्समा समेत संहभागी हुनसक्नेछन् । यसमा खाता खोलेर विताएको समयका अधारमा आम्दानी पनि गर्न सकिन्छ । उनले नेपाल र भारतका प्रयोगकर्ताले सगुनलार्इ धेरै मन पराएको जानकारी दिए । यी दुर्इ मुलकका प्रयोगकर्ताले दिनमा २३ पटकभन्दा बढी सगुन खोल्ने गर्दछन । ‘सगुनका प्रयेगकर्ताले दैनिक एक घण्टाभन्दा बढी समय यसमा खर्च गर्दछन् । अरूले सुनाएकै अधारमा प्रयोगकर्ताको साप्ताहिक वृद्धि दर ३० प्रतिशत देखिएको छ । हामी विशिष्ट र सुरक्षित ज्ञानमा आधारित सामाजिक अनुभवको खोजीमा रहेका प्रयोगकर्तालाइ यस संजालमा समेट्न सफल हुनेछौं भन्ने कुरामा हाम्रो बलियो र समर्पित टोली विश्वास गर्दछ ।’ ‘रेज ए प्लस’ मिनी आइपिओ निस्कासनले सर्वसाधारणलाई स्टार्ट अप कम्पनीमा शेयर लगानी गरेर स्वामित्व हासिल गर्ने सुनौलो अवसर प्रदान गर्दछ । सगुनले अमेरिकी सेयर बजारमा लगानी प्रक्रियाको सहजिकरण र नियमनका लागि फण्ड अमेरिका र प्राइम ट्रस्टसँग साझेदारी गरेको छ ।
सगुनले अहिलेको सार्वजनिक निस्कासनमा सर्वसाधारण र संस्थागत लगानीकर्ताहरूबाट लगानी स्वीकार गर्नेछ । यस पटकको निस्कासन सीमित समयको लागि मात्र खुला रहनेछ । यस पटक सर्ब साधारणले गरेको लगानीबाट जम्मा भएको रकमले प्रयोगकर्ताको अधार वृद्धि गर्न, प्लेटफर्म विस्तार गर्न र सगुनका नयाँ एप, सुविधा र विशेषताहरू थप गर्न खर्च गरिने कम्पनीले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।
सगुनको सेयर खरिद गर्न इच्छुक ब्यक्तिले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ (Sagoon Mini-IPO) ट्याब छानेर लगानी गर्न आवेदन गर्न सक्नेछन् । त्यहाँ सेयर विक्रि अह्रवान पत्र पनि उपलब्ध छ । इच्छुक लगानीकर्ताहरूले लगानी गर्नुअघि उक्त अह्रवान पत्र (सर्कुलर) अध्ययन गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्