कोरोना निको हुनेको संख्या २६६ पुग्यो, आज मात्रै ४५ जना डिस्चार्ज


काठमाडौं – मंगलबार एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना निको भएर घर फर्किएका छन् ।

भीम अस्पतालबाट डिस्चार्ज हुनेमा १६ जना रुपन्देहीका र कपिलवस्तुका ९ जना रहेका छन् । उनीहरु ११ देखि २१ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यस्तै धरानबाट डिस्चार्ज हुनेमा १७ जना झापाका र एक जना सुनसरीका रहेका छन् । उनीहरु १२ देखि १४ औं दिनमा डिस्चार्ज भएका हुन् ।

त्रिवि शिक्षण अस्पतालबाट एक बालिका र गुल्मी अस्पतालबाट एक युवक पनि डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेमा २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकीबाट ३, प्रदेश ५ बाट ७४ र सुदूरपश्चिमबाट ७ जना निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्