

✍️ राजेन्द्रप्रसाद अधिकारी
“चुनावका घोषणापत्र र आश्वासन जस्तै
अनावश्यक र अविश्वसनीय
आरडिटीहरुबाट निगेटिभ ठहरिंदै
परिवार र समुदायमा
कोरोना फैलाउन
मलाई गाउँ पस्न पटक्कै मन छैन”
***
सपनामा
एकाएक
सीमापारीबाट
आफ्नो देश छिर्न लामबद्ध
एक तर आम युवा
मेरो क्यामेरा अगाडि आएर बोल्न थाल्यो-
“नखाएको केही दिन भएको छ, तर
भोकको महशुस भएको छैन
पानी नपिएको पनि त्यति नै भयो होला, तर
पानी खाउँ जस्तो पनि लागेको छैन
मात्र यो लाम छिटो सरिदिए हुन्थ्यो, र
शरीरलाई गर्लम्म्
आफ्नै देशको माटोमा
ढलाई दिन मन लागेको छ”
***
मैले नियालेर हेरें उसलाई
देशमा गणतन्त्र स्थापना भएपछि
मैले विपनामा सधैं देख्न थालेको
संघीय संसद
प्रदेश सभा
पालिका सभा
करोडौं मूल्यका गाडीहरु
अरबौं खर्च भएका समाचार
सफा, सुकिला र चिल्ला अनुहारहरुभन्दा
नितान्त बेग्लै
पातलो चप्पल
गोलिगाँठाभन्दा माथि नै टुङ्गिएको
धुस्रो फुस्रो पाईन्ट, र
मैलो कमिज लगाएको
शरीरबाट पसिनाको कडा गन्ध आईरहेको
खल्तीमा नेपालको नागरिकता बोकेको
एक तर आम युवा बोलिरहेछ-
“म मात्र सीमाभित्र पस्न चाहन्छु
म चाहन्न –
व्यर्थैका क्वारेन्टिन
मरेपछिका पिसिआर टेष्ट, र
मेरो नाममा अर्बौं रुपैयाँको खर्च”
***
ऊ लगातार बोल्न थाल्यो
“म चाहन्न –
व्यर्थैको गाउँसम्मको
कष्टपूर्ण यात्रा
परिवार र समुदायमा
मेरो आगमनको आतङ्क, र
अछूत लासको घाँडो बन्न
त्यसैले म चाहन्छु –
सीमा नजिकै
कुनै ठेकेदारले
एक्साभेटर लगाएर
मेरो लागि एक चिहान खनिदिएको होस्
जहाँ म यो थाकेको शरीरलाई
गर्लम्म विसाइदिन सकुँ
जीवनबाट सदाको लागि फूर्सत लिन सकुँ”
***
गलेको र हतास
एक तर आम युवा
सीमा पारीको लामबाट बोलिरहेकै छ
“म चाहन्छु-
मेरो व्यवस्थापनको लागि जिम्मेवार
व्यक्ति र निकाय
कोभिड-१९ को
प्रभावकारी व्यवस्थापन गर्न सक्षम भएको
समाचार छापियोस्, र
विश्र्वकै उत्कृष्ट व्यवस्थापन गरेकोमा प्रसंशीत रहोस् “
***
उसले यति भन्दा भन्दै
बिउँझिएको म
थाहा छैन मलाई
सपना र विपना उस्तै भएकोमा
सपना समाचार बन्न सक्छ कि सक्दैन?
सपना टेलिभिजनबाट प्रसारण हुन सक्छ कि सक्दैन?
सपना युट्युबमा अपलोड हुन सक्छ कि सक्दैन?
जे होस्
तर म आफ्नो धर्म निर्वाह गर्दै
लेख्नै मन नलागेको एक समाचार लेखिरहेको छु
थाहा छैन मलाई
यो समाचार बन्न सक्छ कि सक्दैन?
यो प्रतिनिधि समाचार हुन सक्छ कि सक्दैन?