कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र–कोरोना नियन्त्रणमा सरकार गैरजिम्मेवार


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ ।

कांग्रेसले मंगलबार कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रधानमन्त्री आलीलाई विशेष ज्ञापन पत्र बुझाएको हो ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाइएको कांग्रेसले जनाएको छ ।

संघीय संसद्को संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटरमै गएर विशेष ज्ञापन पत्र बुझाएको छ । प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री ओली समक्ष विशेष ज्ञापन पत्र बुझाइँदै छ ।

यस्तै कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको निर्देशनअनुसार प्रदेश, जिल्ला र जनसम्पर्क समितिले आफूलाई पायक पर्ने समयमा ज्ञापन पत्र बुझाउन लागेको जानकारी दिए ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।

https://drive.google.com/file/d/1OQn2oc37G-COVlrAawcIDSqh0ENWvjw_/view

प्रतिक्रिया दिनुहोस्