कुवेतबाट आज पनि १५० जना फर्किए


कुवेतबाट आज पनि १५० जना नेपाली स्वदेश फर्किएका छन्। कुवेतमा आममाफीमा सहभागी १५० जना नेपालीलाई लिएर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा सहभागी नेपालीलाई नेपाल पठाइरहेको छ।

प्रवक्ता क्षेत्रीका अनुसार कुवेतबाट जजिरा एअरलाइन्सले १५० जना यात्रु र दुईवटा शव ल्याएको छ। कुवेतबाट यसअघि पाँच उडानमार्फत ७४८ जना स्वदेश फर्किसकेका छन्। त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकाहरुलाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ। आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन्। उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ। जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ। बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ।

यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ। घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिनेछ। होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउनेछ।

यात्रा गर्न नसक्ने, कुनै स्वास्थ्य समस्या भएमा वा कोरोनाको आशंका भएमा काठमाण्डौकै आपलकालीन क्वरेण्टीनमा राखिनेछ। सरकारले विदेशबाट घर फर्किएका नेपालीलाई आपलकालीन अवस्थामा राख्नको लागि काठमाण्डौमा पनि झण्डै १५ सय क्षमताको क्वरेण्टीन बेडहरुको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्