उकालो लाग्दै कोरोना : २४ घण्टामा २३५१ संक्रमित, काठमाडौंमा मात्र ७८६ जनामा संक्रमण


नेपालमा कोरोनाको दोस्रो लहर तीव्र हुन थालेको छ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ५१ जनामा कोभिड–१९ संक्रमण देखिएको छ।

यो अवधिमा काठमाडौंमा मात्रै ७ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जनामा संक्रमण देखिएको छ।

२४ घण्टामा थप २८७ जना निको भएका छन्। निको हुने दर ९३.३ प्रतिशत पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा २ हजार २२० जना र ८०३ जनाको एन्टीजेन परीक्षण गर्दा १३१ जना गरी थप २ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको थियो।

थप संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ। क्वारेन्टिनमा ८६ जना छन्। आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्