गगन थापाको पहलमा काठमाडौं–४ मा शुरु भयाे ‘होम आइसोलेसन सेवा’


काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा होम आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरी ‘होम आइसोलेसन सेवा’ प्रारम्भ गरेका छन्। कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ  गरिएको हो। ‘हेल्थ एट होम’ सँगको सहकार्यमा सांसद कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले होम आइसोलेसन सेवा सुरु गरेको हो।

नेपाल सरकारबाट स्वीकृत प्राप्त संस्था ‘हेल्थ एट होम’काे सहकार्य र साझेदारीमा सेवा सुरु गरिएको हो। होम आइसोलेसनमा रहेकाहरुलाई  ‘हेल्थ एट होम’ टीमले आवश्यक चिकित्सकीय परामर्श प्रदान गर्नेछ। साथै, आइसोलेसनको अवधिभर आवश्यक परामर्श दिनुका साथै स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने थापाले जानकारी गराए।

होम आइसोलेसनमा रहेकाले उक्त सेवा लिनका लागि आफ्नो नाम भने टिपाउनुपर्नेछ। त्यसका लागि थापाले मोबाइल नम्बर समेत उपलब्ध गराएका छन्। सेवाग्राहीले ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना (वडा र टोल खुल्ने गरी) एसएमएस गर्नुपर्नेछ। प्राप्त एसएमएसका आधारमा ‘हेल्थ एट होम’का सदस्यले होम आइसोलेसनमा रहेकालाई सम्पर्क गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्