भर्चुअल माध्यमबाट (यूएई) मा २५६५ औँ बुद्द जयन्ती मनाईयो


यूएई । यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा २५६५ औँ बुद्द जयन्ती मनाईएको छ ।

नेपाली समाजको आयोजनामा यूएईमा रहेका बिभिन्न संघसंस्थाहरुले भर्चुअल माध्यमबाट बुद्द जयन्ती मनाएका हुन् । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले संसारभरिका बुद्द धर्मावलम्बीहरुले भागवान बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै मनाउँदै आएका छन् ।

बुद्दलाई शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा पनि चिनिन्छ । बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । आयोजित कार्यक्रममा सहभागीहरुले बुद्दका यिनै उपदेशहरुलाई स्मरण गर्दै विश्व शान्तिको कामना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबासका महामाहिम राजदूत कृष्ण प्रसाद ढकालले गौतम बुद्दको बुद्दत्वको बारेमा चर्चा गर्दै विश्वशान्तिको कामना गरे । राजदूत ढकालले भगवान बुद्द एसियाको मात्र तारा नभएर बुद्द धर्मको दर्शन विश्व मानब जातिको शान्तिको मार्गदिशा रहेकोमा जोड दिए ।

जनजाति महासंघ यूएईका अध्यक्ष महेश मोक्तानले संसार कोरोना महामारीले अशान्ति रहेको बेला मनमा शान्ति कायम गर्दै यो महामारीसँग जुध्न पर्ने आजको आवश्यकता रहेको बताए । लोभ, लालच, अहिँसा त्यागेर आफुलाई जति धैर्य र शान्तिमय बनायो उत्तिनै कोरोना महामारीसँग जुध्न सहज हुनेमा मोक्तानले जोड दिए। नेपाली समाजका संस्थापक चन्द्र प्रसाद सापकोटाले नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा बुद्दजयन्ती मनाउदै आएकोमा खुशी ब्यक्त गरे । नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण बहादुर ढकालले महामारीको समस्याबाट जुधिरहेको नेपाललाई दिल खोलेर सहयोग गर्न नेपाली संघसंस्थालाई अनुरोध गरे । कार्यक्रममा बिभिन्न राजनैतीक दलका प्रतिनिधिहरु, गैर आवासीय नेपाली संघ, पत्रकार महासंघ लगायतका संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिब बेद प्रसाद अर्यालले सँचालन गर्नु भएको उक्त भर्चुअल कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्