ह्वात्तै बढ्यो कोरोना संक्रमण : कार्तिक यताकै उच्च संक्रमित


काठमाडौं । भारत, अमेरिकालगायत विश्वभर बढेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढेको छ । बिहीबार ५ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । 

वल्र्डोमिटरको तथ्याङ्क अनुसार गत कात्तिक ११ मा (अक्टोबर २८ ) मा नेपालमा ५ सय ६० जना नयाँ संक्रमित थपिएका थिए । त्यसयता घट्दै आएको संक्रमण पछिल्लो केही दिनयता बढ्दै गएको हो ।

त्यसयता दैनिक करिब २ सयदेखि ३ सयको हाराहारीमा मात्रै नयाँ संक्रमित थपिँदै आएका थिए ।

बिहीबार थपिएका ५ सय ४० जना नयाँ संक्रमितमध्ये ३ सय १० काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २२१, भक्तपुरका ३० र ललितपुरका ५९ रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७१ जना कोभिड१९को संक्रमणबाट मुक्त भएका छन् भने, थप एक जना संक्रमितको मृत्यु भएको छ ।

केही दिनअघि ४ हजारमा झरेको सक्रिय संक्रमित सङ्ख्या पनि बढेर ५ हजार ४ सय ३१ पुगेको छ ।

हालसम्म नेपालमा ८ लाख ३० हजार ४ सय ८० जनामा पीसीआर र ९६ हजार ४ सय ४५ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको छ ।

यीमध्ये ८ लाख १३ हजार ४ सय ४७ जना निको भइसकेका छन् भने, ११ हजार ६ सय २ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको नमुना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्