दलभन्दा माथि उठेर एउटा जानकार र विषय विज्ञको हिसाबले आफ्नो विचार र प्रस्तुतिहरू राख्नुपर्छ । उपनिर्वाचनबाट आएका कारण राष्ट्रिय सभामा अन्य सदस्यहरूले जस्तो मैले धेरै लामो समय बिताउन पाइनँ । ६ वर्षे कार्यकाल भएको राष्ट्रिय सभामा मेरो पदावधि करिब ९ महिना रह्यो । यस ९ महिनामा खास धेरै बैठकहरू बस्न सकेनन् । त्यसकारण जति गहन विषयहरूमा छलफल हुनुपथ्र्यो, त्यो हुन पाएन । समसामयिक विषयहरूमा नै छलफल भयो । यस बीचमा केही विधेयकहरू पनि आए । त्यसमा सामान्य छलफल गरेर पारित गर्ने काम भयो । त्यसबाहेक देशको समसामयिक विषय र समस्याहरूका विषयमा नै माननीय सदस्यहरूले आफ्ना विचारहरू राख्ने काम गर्नुभयो । नौ महिनाको कार्यकालमा मैले पनि दुई पटक बोल्ने मौका पाएको थिएँ । देशमा देखिएको राजनीतिक अस्थिरता र अप्ठ्यारो अवस्थामा छलफल र सहमतिका आधारमा मिलेर जानुपर्ने विचार मैले राखेँ ।

निर्वाचित हुनुअघि मैले सोचेको राष्ट्रिय सभा र निर्वाचित भएर आइसकेपछिको राष्ट्रिय सभामा धेरै भिन्नता पाएँ । राष्ट्रिय सभा माथिल्लो सदन हो, विज्ञहरूको सभा हो, प्रतिनिधि सभाबाट आएका विषयवस्तुहरूमा गहन ढङ्गले छलफल हुन्छ, परिपक्क छलफल हुन्छ भन्ने मैले सोच्थेँ । विज्ञहरूको यस सभामा आइसकेपछि दलभन्दा माथि उठेर राष्ट्रलाई निकास दिने गरी निर्देशन हुन्छ, यसमा मेरो भूमिका के हुन सक्छ ? भनेर सुरुमा त म आफै अत्तालिएको थिएँ । तर, यहाँ आइसकेपछि मैले त्यस्तो पाइनँ । विद्वानहरूको यस सभामा आइसकेपछि जुन ढङ्गले छलफल हुनुपर्ने हो, विचारहरू प्रस्तुत हुनुपर्ने हो, त्यसमा कतै न कतै अभाव देखियो ।

राष्ट्रिय सभा माथिल्लो सदन हो, विज्ञहरूको सभा हो, प्रतिनिधि सभाबाट आएका विषयवस्तुहरूमा गहन ढङ्गले छलफल हुन्छ, परिपक्क छलफल हुन्छ भन्ने मैले सोच्थेँ । विज्ञहरूको यस सभामा आइसकेपछि दलभन्दा माथि उठेर राष्ट्रलाई निकास दिने गरी निर्देशन हुन्छ, यसमा मेरो भूमिका के हुन सक्छ ? भनेर सुरुमा त म आफै अत्तालिएको थिएँ । तर, यहाँ आइसकेपछि मैले त्यस्तो पाइनँ ।

राष्ट्रिय सभा विज्ञहरूको सभा हो, विद्वान्हरूको सभा हो । यहाँ कुनै न कुनै विषयका विज्ञ व्यक्तित्वहरू, अनुभवी र पाका मानिसहरू आउँछन् भन्ने आम धारणा छ । राष्ट्रिय सभाको अवधारणा पनि यही हो । समावेशिताका लागि यस सभालाई नमूनाका रुपमा लिन सकिन्छ । सम्मानित यस सभामा आइसकेपछि हरेक एक सदस्यको जिम्मेवारी हुन्छ, कि यस सभाको गरिमा कायम राख्नु । दलहरूले पनि समावेशी र समानुपातिक अवधारणालाई न्याय हुने गरी सदस्यहरूको छनौट गरी यस सभामा पठाउनु पर्छ जस्तो मलाई लाग्छ किनभने विज्ञहरूको सभा भएकाले यस सभालाई अपरिपक्व काम गर्ने छुट हुँदैन ।

राष्ट्रिय सभा उपल्लो सदन हो । मेरो विचारमा, दलबाट प्रतिनिधित्व गरेर आए पनि त्यहाँ दलभन्दा माथि उठेर एउटा जानकार र विषय विज्ञको हिसाबले सदस्यहरूले आफ्नो कुरा, विचार र प्रस्तुतिहरू राख्नुपर्छ । राज्यको हितलाई ध्यानमा राखेर, राष्ट्रलाई नै केन्द्रविन्दुमा राखेर, छलफल गरेर अघि बढ्नुपर्ने सभा हो । हामी कुनै न कुनै दलबाट प्रतिनिधित्व गरेको भएर अलिकति झुकाव त रहन्छ, तैपनि दललाई अहिलेका लागि थाती राखेर राष्ट्रको हितलाई ध्यानमा राखेर, राष्ट्रको हितमा छलफल गरेर प्रतिनिधि सभालाई निर्देशन दिने/सुझाव दिने, सल्लाह दिने सभा हो, हाम्रो सभा । यस तरिकाले हामी अगाडि बढ्न सक्यौँ भने राष्ट्रिय सभाको गरिमा कायम रहन्छ ।

नवनिर्वाचित राष्ट्रिय सभाका माननीय सदस्यहरूलाई मेरा तर्फबाट धेरै बधाई र कार्यकाल सफल रहोस् भन्ने कामना छ । साथै उहाँहरूलाई म एउटा के अनुरोध गर्न चाहन्छु भने, हामी जुनसुकै दलबाट प्रतिनिधित्व गरेर राष्ट्रिय सभामा आए पनि राष्ट्रिय हितलाई ध्यानमा राखेर, जनतालाई केन्द्रविन्दुमा राखेर गहन छलफल गरेर नमुनाका रुपमा प्रस्तुत हुनुपर्छ । मलाई विश्वास छ, अहिले निर्वाचित भएर आउनु भएका माननीय सदस्यहरूले राष्ट्रिय सभाको गरिमालाई ध्यानमा राखेर आफ्नो भूमिका खेल्नु हुनेछ । उहाँहरूबाट राष्ट्रिय सभाको गरिमा अझै बढ्ने छ भन्ने मलाई आशा छ ।

– राष्ट्रिय सभा सदस्य पाण्डेयको पदावधि आज (२० फागुन, २०७८) सकिएको छ । राष्ट्रिय सभामा चार वर्षे पदावधि रहेका चन्द्रबहादुर खड्काले दल त्याग गरेपछि १७ जेठ, २०७८ मा भएको उपनिर्वाचनमा पाण्डेय निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । उहाँले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्नुभएको थियो । त्यसो त, उहाँको पृष्ठभूमि पनि कांग्रेस नै हो । २०७४ को चुनावअघि मात्रै उहाँ एमाले प्रवेश गर्नुभएको थियो । पाण्डेयको अनुभूति ‘राष्ट्रिय सभाका दुई वर्ष’ पुस्तकबाट लिइएको हो ।