संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । र खाद्यान्न ढुवानी हुन सकेको छैन ।

चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या हुने अवस्था आएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पाले बताए । सरकारले ती गाउँमा प्रतिपरिवार ४० किलो चामल र ३ किलो दाल छुट्याएपनि ढुवानी हुन नसकेको उनले बताए ।

‘हटिया (पालिकाको सदरमुकाम) पुग्ने दुईवटै बाटो बन्द छ,’ उनले भने, ‘खाद्यान्न गाउँमा पु¥याउने अवस्था छैन ।’ सरकारले दिने भनेको खाद्यान्न पनि च्याम्ताङसम्म मात्रै पुगेको छ ।

च्याम्ताङबाट बोकेर लैजान नसकिने भएकाले गाउँसम्म ढुवानीका लागि हेलिकप्टर आवश्यक पर्ने वडाध्यक्ष शेर्पाले बताए । ‘बोकेर लैजानुपर्दा जेठमा मात्रै पु¥याउन सकिन्छ,’ उनले भने, ‘सरकारले हेलिकप्टरमार्फत नल्याइदिए खोले खाएर गुजारा गर्नुपर्छ ।’